मातृत्वको असिम आनन्द !
सुर्यको प्रथम लाली बोकेर फेवातालको गर्भमा मुस्कुराइरहेको हुँदो हो माछापुच्छ्रे ! त्यही माछापुच्छ्रेको आँगनीमा हामी हाम्रो जीवनको मुस्कान कुरिरहेका थियौं । २०६८ जेठ ७ गते बिहान १०:११ मा हाम्रो जीवनको उज्यालो बोकेर साहरा धरतीमा पदार्पण भइन । च्याँ च्याँ रोएको आवाज त पेन किल्लर पो हुँदोरहेछ । कति सहजै १८ घन्टा लामो असह्य प्रसव व्यथा चट्टै भयो । आफ्नै शरीरबाट निस्किएको ,आफ्नै रगतले लतपतिएको ,आफ्नै मासुको टुक्राको ढुक्ढुकीलाई आफ्नै छातीमा लपक्क टाँसेपछिको आनन्द शब्दमा वर्णन हुँदैन । अहो ! ती कोमल अंगहरुलाई नबिझाओस भनेर बिस्तारै सुमसुमाउँदै त्यो सानो निधारभरी सिङ्गो धरतीको माया बर्साउँदाको सुखानुभुती खै कुन वाक्यभित्र समेटिएला र !
भलै खुट्टाहरु भुँई टेकेर उभिन असमर्थ हुन ।आमा मन भने सन्तानलाई सुरक्षित धर्तीमा ल्याइसकेपछी युद्ध जितेको सिपाहीको मुस्कान बोकेर सिङ्गो संसार परिक्रमा गर्दो रहेछ । म अब आमा ? जीवनमा एकसाथ गौरवान्वित , रोमान्चित ,अचम्मित र जिम्मेवारी बोधको मिश्रण । कति सुन्दर ! इन्द्रेणी जस्तै ।
ट्याक्सीको अगाडिको सिट्मा मेरी मामु ।मामुको काखमा उहाँकी छोरीकी छोरी । पछाडि मेरो श्रीमान उहाँको काखमा शिर राखेर लम्पसार म, गण्डकी अस्पतालको परिसरबाट बाहिर निस्कियौँ । विस्तारै ह्याङ्जासम्मको सिधा बाटो सकिएपछि पहाड्को घुमाउरो बाटो बाटोभरीका खाल्डाखुल्डी छेल्दै अगाडि बढिरह्यौँ । अघिपछि पोखराबाट बेनी ट्याक्सीमा बढीमा मात्र ३ घण्टाको यात्रा हो । त्यतिखेर ३ घण्टामा लुम्ले पनि पुगिएन । मननै खुशी भएपछि यात्रा जतिसुकै लामो होस् पलभरमै सकिँदो रहेछ ।
पोखरा र गण्डकी अस्पताल हाम्रो रहर थिएन । नर्मल डेलिभरीका लागी बेनीमै सुबिधा सम्पन्न अस्पताल थियो ।
समस्या थियो मेरो महिनावारी अर्थात मासिक चक्र, जुन मेरो हकमा चौमासिक छ । त्यसैले सम्भावित मितिका लागी भिडियो एक्सरेको मात्र भर थियो । भिडियो एक्सरे अनुसार ४१ हप्ता पुगिसकेको थियो ।
अर्काेतिर सबैभन्दा जटिल समस्या थियो एबी नेगेटिभ ब्लड ग्रुप , ब्लड बैंक र सुत्केरी हुँदा बित्तिकै लगाउनुपर्ने एन्टी डी इन्जेक्सन । हरेक पटक, हरेक डाक्टर, सबै जाँच सकेपछि ,सबै नर्मल भनेपछि , ब्लड ग्रुपमा गएर रोकिन्थे । सबैको सल्लाह थियो गण्डकी र हाम्रो अन्तिम गन्तव्य पनि । पहिलो वच्चा, पहिलो काउकुती ,पहिलो अनुभुति सबै ठीक चलिरहेको थियो । भनिन्छ नि सहजै प्राप्त भएपछि प्राप्ती हलुको हुन्छ । सायद थप वजनदार हुनुपर्ने थियो होला मेरो हकमा । कहानीमा ट्विस्ट थपियो । आज भन्दा भोलि निको हुनुपर्ने घाउको दुखाई झन बढिरह्यो । अस्पतालबाट दिएको औसधि खाएकै थिएँ । घाउ सफा गर्ने जिम्मा उहाँको ,गरिरहनुभाथ्यो । तर समस्या घटेन । श्रीमान ,२ जना बहिनी ,मामु र आफन्त सबैको एकै प्रश्न हुन्थ्यो ,अहिले अलिक कम भो ? अहँ कत्ति घटेन बढिरह्यो । हुँदाहुँदै अब त शौचका लागि पनि समस्या भो ।
म्याग्दी अस्पताल नजिकै थियो डेरा । स्वास्थ्यकर्मी तुलसी दिदीसँग अलिक नजिक थियौँ । उहाँ आउनुभयो ।उहाँकै सल्लाहमा पाँचौ दिन म्याग्दी अस्पतालको बेडमा पुगें । गोरी, सानो कद, हंसिलो मुहार भएकी सायद प्रसुती वार्डको हेड हुनुपर्छ उनी । सरासर आइन ,पहिले गण्डकी अस्पतालको पुर्जाको खोलमात्र र त्यसपछी घाऊ हेरिन । छि.....! इन्फेक्सन भैसकेको छ । तिमीहरूलाई हाम्रो विस्वास नभएर पोखरा पुग्नुपर्ने । जाओ जहाँ सुत्केरी भएको त्यहीँ । यहाँ हुँदैन । यत्ती भनेर फनक्कै आएको बाटो फर्किन ।अब के गर्ने ? म लल्याकलुलुक भएँ । जेठको महिना साँझको ५:३० बज्दै गर्दा सबैका अनुहारमा एकैपटक सुर्यास्त भयो । रेनुकाले त अस्ति देखी गार्हो भयो भन्दै त थिइ नि श्रीमानको अनुहारमा पछुतो रङ्गियो । सबैका छोरी बुहारी मेरै हातले सुत्केरी गराएँ मेरी छोरीको भने मामुको सुडेनी मन भतभती भयो।
मलाई अब त घाउले मात्र होइन भने उनको सुन्दर अनुहार भित्रको कुरुप बोलीले पनि कोपिरह्यो । मन गरुङ्गो भएपछि पैतालाहरु कसरी अगाडि बढुन । धेरै आश बोकेर आएका हामी निराश र त्रास बोकेर फर्कियौँ डेरामा । आफन्तमा खबर फैलियो । घाउ अझै बेसरी चहराइरहे जस्तो पोलिरहेजस्तो लाग्यो । असह्य भएपछि कसैले थाहा नपाउने गरी ५०० एम जी का २ वटा पेन किल्लर खाएँ । फेरी ट्याक्सी आयो । ५ दिनकी सुत्केरी बोकेर साँझको ६ बजे म्याग्दी बेनी छाड्यौँ ।
पर्वत बेनी । माइतीघर बाटोमै छ । न्वारान नगरी भाइ र बाबालाई हेर्न हुन्न भनेर अस्ति शिर झुकाएर गएकी आज बाबा र भाई दुबैजनाले आँखाभरी आँसु बोकेर मेरै बाटो हेरेको देखेँ । सोचेँ यी धर्म संस्कार पनि सहज भइन्जेल त रछ नि !
घाउ चहराइरहेकै थियो । तनको दुखाइ मात्र भको भए पो , मनको दुखाईलाई पेन किल्लरले कसरी निको पारोस ? मनको अँध्यारोलाई छोरीको मुहारको उज्यालो र जमिनको अँध्यारोलाई ट्याक्सीको मधुर उज्यालोले चिर्दै उहि धिमा गतिमा गुडिरह्यो ट्याक्सी । बाटोभरी ती महिलाको बारेमा कुरा भयो । "हे त्यो आइमाई त्यस्तै हो । मेरी श्रीमती भन्दै थिइन उसको भाउजु सुत्केरी हुने बेलामा तथानाम गाली मात्रै गरिनछे । यौनाङ्गमै पिटिछे ।" चालकले थपे । म पनि झल्यास भएँ । आँखा वरिपरी पृनेटल वार्ड भित्रको छट्पटी नाच्न थाल्यो । सुत्केरी व्यथा लागेपछिका हरेक क्रियाकलाप आँखावरिपरी घुमे । प्रसव व्यथाले छट्पटीदैँ रोइरहेका हरुलाई .......बेला खुब मजा भयो अहिले रुन्छौ भन्दै कानमा एयरफोन लगाएर कुनापट्टी फर्केर बसेका एप्रोनवालीहरु । तिनकै लापरबाहीले प्रसुती कक्षमै नपुगी बाटोमै जन्मेका शिशुहरु ।
धन्न म त भाग्यमानी ! आफैलाई सम्झाएँ । एउटी अधबैंसे नर्स थिइन । जो सुरुवातदेखि मेरै आडमा बसिरहिन । राउन्डमा आउने डाक्टरलाई मेरो ब्लड ग्रुप सबैभन्दा पहिले भन्थिन । बाँधिएको मेरो कपाल व्यथा बाँधिन्छ भन्दै खोलिदिइन । मैले ऎया मामु भन्दा मामु नभन व्यथा लम्बिन्छ भनिन् । पटकपटकपटक ब्लड छ कि छैन बुझ्नु भनेर उहाँलाई कुदाइरहिन । दुखिरहेको शरीरलाई सुमसुमाउँदै नआत्तिन भनिरहिन । अन्त्यसम्म उनैले सुत्केरी बनाइन र भोलिपल्ट बिदाई पनि । आफ्ना साथीहरूसँग कुरा गर्दा भन्थिन उनको लागी मेरो केस स्पेसल हो । यो केस पछि उनको पोइन्ट पुग्छ । त्यो भन्या के हो मैले बुझिन तर यहीँ बुझेँ यी क्याक्टसहरुको बिचमा उनीमात्र फूल हुन । जो मेरो साथमा छिन ।
राती १२ बजे गण्डकी अस्पताल छिर्यौँ । अस्पतालमा हो हल्ला र रुवाबासी थियो । नजिकै दुर्घटना भएको थियो सायद । घाइतेको बेचैनी र लास वरिपरिका मानिसको छट्पटी देखेपछि मलाई त म बिलकुल ठिक छु जस्तो लाग्यो । आफुभन्दा अप्ठ्यारोमा अरु देखेपछि आफ्नो पिडा यत्तिकै कम हुँदो रहेछ । यताउता घुमेपछी रातको ३ बजे इमर्जेन्सीमा छिर्यौँ । डाक्टरले घाउ हेरे, पुर्जा हेरे र भने 'एहे सामान्य समस्याका लागी धेरै दुख पाउनुभएछ । बेनीमै हस्पिटलमा देखाउनुभएको भए हुन्थ्यो ।' यत्ति सुनेपछि हामी क्षणभरमै असामान्यबाट सामान्य भयौँ । असहजबाट सहज भयौँ । जे रहेछ बोलीमै त रहेछ । तीन पत्ता एन्टिबायोटिक अर्थात एमोक्ससिलिन थप भयो । फेरि ट्याक्सीले उही यात्रा दोहोरायो । नौडाँडामा पुगेपछी फर्केर हेरेँ । सूर्यको पहिलो चुम्बनले लाली चढेको थियो माछापुच्छ्रेमा । माछापुच्छ्रे र फेवातालको निर्विकार सौन्दर्यलाई आँखाभरी समेटेर मेरी छोरीको शिरमा थमाइदिएँ । ट्याक्सी उही धिमा गतिमा जमिनमा गुडिरह्यो तर मेरो मन , मनकै गतिमा उडिरह्यो कहाँ कहाँ ।
Comments
Post a Comment