जायज र नाजायज शृङ्खला !
जायज र नाजायज शृङ्खला !
रेणुका जि सी
सोमबार साँझ कपनको आकाशेधारा चौरमा खेल्दै गरेका बच्चाहरूले एउटी नवजात शिशुलाई बेवारिसे अवस्थामा भेटे । कार्टुनको बाकसमा रहेकी ४/५ दिनकी जस्ती ती अबोध सुन्दर शिशुको तस्विर हाम्रो समाजको कुरुप बिम्ब बोकेर उभिएको जस्तो लाग्यो । घचघचाइरह्यो । घटनाको सत्यतथ्य कुरा जे भएपनि यति त अनुमान लगाउन सकिन्छ कि सहज रुपमा नै गर्भपतनको सुबिधा भैरहेको अहिलेको अवस्थामा यसरी शिशु भेटिनु गर्भको अन्त्य समयतिर आएर महिला माथि भएको धोकाको परिणाम हो । र बालगृह नजिकै शिशु भेटिनु भनेको बच्चा बालगृहमा सुरक्षित हुर्कियोस् भन्ने आमाको चाहना हो ।
वेवारिशे रुपमा कोही जिवित कोही मृत अवस्थामा शिशु भेटिएका खबर हामीले प्राय सुनिरहेका हुन्छौँ । यी खबरहरु सुखद खबर होइनन । तर सोचनीय खबर चाहीँ पक्कै हुन !
अक्सर यस्ता खबर सुन्नासाथ हामी धेरैको प्रतिक्रिया यही हुन्छ । चरित्रहिन आइमाइ ....पापीनी आमा ....आमाको नाममा कलंक ....या यस्तै केही । यसरी नै सतही प्रतिक्रिया दिने कि यस बारेमा गम्भिर भएर चिन्तन मनन पनि गर्ने ?
एक आमा जसले आफुभित्र एउटा जीवन हुर्काइरहेकी हुन्छे । उसले सामान्य अवस्थामा आफ्नो सन्तान छाड्न सक्दिन । सर्वमान्य कुरा हो । असामान्य अवस्थाहरु चाहीँ कसरी सृजित भैरहेका छन ? त्यसका कारणहरु के के हुन सक्छन त ! तपाईं हाम्रो सोचको विषय यो पो बनाउने कि !
बच्चा त्यही बाटो भएर जन्मन्छ जुन बाटो भएर एउटा पुरुष महिलामा पुग्छ । कुनै पुरुष बिना महिला एक्लै आमा बन्न सक्दिने । महिला पनि पुरुष सरह एक शरीर हो । महिला र पुरुष शरीरका आ आफ्नै विशेषता छन । प्रजनन प्रकृयाका आधारमा मात्र महिला र पुरुष दुई फरक जातीका रुपमा बिभाजित हुन ।
मानव जीवनमा पनि यौन सम्बन्धको महत्वपूर्ण भूमिका रहन्छ । सृष्टी यौनकै उपज हो । महिला र पुरुषको रगत र विर्य नमिली गर्भधारण हुँदैन । गर्भधारण पश्चात गर्भको शिशुको सुरक्षा महिलाको हातमा हुनुपर्ने हो । तर सवाल यो हो , के महिलाको पाठेघरमा महिलाको अधिकार छ त ? गर्भमा छोरी छ भन्ने थाहा पाएपछि परिवारको निर्देशनमा लुरुलुरु अस्पताल पुगेर जतिपटक पनि लम्पसार परेर खुट्टा उचाल्न पछि नपर्ने आम महिलाको पाठेघर कुन सोचको मुट्ठीमा छ ? कुन सोचको निर्देशनमा यी शिशु नाजायज बनिन र कार्टुनमा आइपुगिन ?
अब कुमाता भन्नेहरुले यो पनि भनिदिनुहोस ।महाभारतमा सत्यवती र कुन्ती लाई विचरा भन्न सक्ने हामी , कर्णलाई नदिमा बगाउँदा बगेका कुन्तीका आँशुले पोलेर धरधरी रुन सक्ने हामी ! तर घर छेउका कुन्तीहरु हामीलाई किन अस्विकार्य ! के संवेदना भन्ने कुरा फिल्मको पर्दाका लागि मात्र हो र !
जायज र नाजायजका जुन प्रश्नहरु अहिले हाम्रा समाजमा उठाइरहेका छौँ ती प्रश्नहरु हाम्रा धर्मग्रन्थहरुमा पनि उठाउन जरुरी छ । पराशर ऋषीले सत्यवतीलाई कुमारी अवस्थामा आमा बनाए , सूर्यले कुन्तीलाई कुमारी अवस्थामा आमा बनाए, अझै महर्षी व्यासले त आफ्नी आमाको लोग्नेका छोराकी विधवा श्रीमतीलाई र दाशीलाई आमा बनाए । भरत वंश अगाडि बढ्यो । हामीले सहजै पचाइदियौँ । अति सामान्य रुपमा । कारण त्यहाँ ती (नाजायज )कुराहरुको व्याख्या गर्न जायज कारणहरु दिइएको छ नि त ! अनि त्यस्ता जायज कारणहरुका शृङ्खला हाम्रा वरपर पनि त होलान नि । हैन र !
हामी पटक पटक जायज र नाजायज का बारेमा बोल्छौँ । आखिर के जायज ? हामीलाई जे सुनाइयो सुन्यौँ त्यही ! जे पढाइयो पढ्यौँ त्यही ! हाम्रो चेतनाको पर्दा खोलेर त हेरौँ ब्रह्मा , विष्णु , महेश्वर देखि राम , कृष्ण , बुद्ध सबैमा प्रश्नचिन्ह खडा गर्ने प्रशस्त ठाउँ भेटिन्छन । अझ महाभारत र श्रीस्वस्थानीका त नकुरा गरुम ।
हाम्रा धार्मिक ग्रन्थहरुलाई हेर्दा पनि यति त भन्न सकिन्छ पितृसत्तात्मक जगमा उभिएको हाम्रो समाजको मालिक पुरुष हो । प्राचिन समयमा पनि अहिले पनि , लिङ्गका आधारमा हामी महिलाहरु भएपनि अधिकांश महिलाहरुको सोच नै पुरुषप्रधानताले हावी भएको छ । लोग्नेमानिस हो यति त भै हाल्छ नि । हामी सहजै स्विकार गरिदिन्छौँ ।जसले गर्दा समाजमा मालिकका रुपमा व्यवहार गर्न पुरुषहरु वर्जित छैनन , महिलाहरु वस्तु बनेका छन , दासी बनेका छन । यस्ता प्रवृत्तिप्रति महिलाहरुको मौनताले स्विकारोक्ती बोलीरहेको छ । फलस्वरुप अपराध बढिरहेको छ । एउटी महिलाको दुई दुई पटक दुई श्रीमानद्वारा हत्या गरिएको दृष्टान्त हाम्रै सामु छ ।
हामी भनेँ आँखा चिम्लेर प्रतिकृया जनाइरहेका छौँ । यस्ता घटनाहरुका पछाडि महिला एक्लै दोषी हो , देखिरहेका छौँ । महिला माथि मात्र प्रश्न उठाइरहेका छौँ ।
महिला जन्मदै महिला भएर जन्म लिने होइन । एउटा अबोध शिशु महिला बनाइएझैँ , एउटी महिला चरित्रहिन बनाइन्छे , पापीनी बनाइन्छे, कुमाता बनाइन्छे । हामीले बनाएका छौँ । हामी किन स्विकार गर्न सक्दैनौं ? यी सब बनाइनुका पछाडि हाम्रो हात पनि छ ! के यो शिशु यसरी छाडिनुमा हाम्रो कुनै भूमिका छैन र ! हाम्रो समाज , सामाजिक संरचना , कानुनी व्यवस्था सब जायज छन त ?
थाहा छ । सामान्य पहिरनको आधारमा मर्यादा निर्धारण गरिने समाजमा उभिएर यसो सोच्नु मुर्खता ठहरिएला ! तर अबको समाजमा महिलाको मातृत्वको स्वतन्त्रता स्विकार्य गर्न जरुरी छ । कानुनी रुपमा मात्र होइन सामाजिक सोचलाई पनि फराकिलो पार्न अपरिहार्य छ । महिलालाई आफ्नो इच्छाले प्रजननको अनुमति दिएर अविवाहित या एकल आमा र तिनका सन्तानलाई जायज मान्ने हो भने यो (नाजायज ) शृङ्खला कम हुन्थ्यो कि त !
Ekdam satye kura ho, hami le yo kura uthaunai parxa mahila lai purus jastai banau vanyera adhikar magya hoina tara purus r mahela lai samman rup ma herda matrai pani dherai samsya ko samadan hunxa. Mahela le mathi uthna pauxan , agi badhna pauxan vanne kura ho. Aafnu adhikar jeuna pauxan vanne kura ho.
ReplyDeleteभर्खरै हाम्रै समजामा घटेको घटनलाई लिएर गंभिर कुरा उठाउनु भएको छ । पक्कै पनि हामीले यो सोचेनौ कि ती महिलाले कति दर्द सहेर त्यो निर्णय लिए होलान । आखिर महिला पुरुष मिलेर गरेको कर्मको फल हो त्यो । किन पुरुषलाई गाली गरिएन जसले गर्दा आफ्नो कोखमा हुर्केको बच्चा त्यसरी वेवारिसे अवस्थामा फ्याक्नु पर्यो । यो समाजको सानो सोच पनि जिम्मेवारी छ । यदि यो समाजमा विवाह नगरी बच्चा जन्माउन पाइने व्यवस्था भएको भए आज यो दिन आउथेन । फिलिपिन्समा विवाह नगरी मज्जाले बच्चा जन्माउन पाइन्छ र पछि विवाह गर्दा कहिले प्रश्न उठदैन । अब हाम्रो समाजको पनि सोच फराकिलो पार्न जरुरी छ । तपाईको लेखले अन्यायमा परेकाको अवाज उठाएको छ ।
ReplyDeleteभर्खरै हाम्रै समजामा घटेको घटनलाई लिएर गंभिर कुरा उठाउनु भएको छ । पक्कै पनि हामीले यो सोचेनौ कि ती महिलाले कति दर्द सहेर त्यो निर्णय लिए होलान । आखिर महिला पुरुष मिलेर गरेको कर्मको फल हो त्यो । किन पुरुषलाई गाली गरिएन जसले गर्दा आफ्नो कोखमा हुर्केको बच्चा त्यसरी वेवारिसे अवस्थामा फ्याक्नु पर्यो । यो समाजको सानो सोच पनि जिम्मेवारी छ । यदि यो समाजमा विवाह नगरी बच्चा जन्माउन पाइने व्यवस्था भएको भए आज यो दिन आउथेन । फिलिपिन्समा विवाह नगरी मज्जाले बच्चा जन्माउन पाइन्छ र पछि विवाह गर्दा कहिले प्रश्न उठदैन । अब हाम्रो समाजको पनि सोच फराकिलो पार्न जरुरी छ । तपाईको लेखले अन्यायमा परेकाको अवाज उठाएको छ ।
ReplyDelete