औंला( कविता जस्तै केही)

 औँला


यो देशमा

सबैभन्दा धेरै उठ्ने

सायद

औँला हो।


जहाँ हेर्यो,

कसै न कसैतर्फ ठडिएको हुन्छ।


जिम्मेवारीको कुरा उठ्नेबित्तिकै

ती सबै औँलाहरू

हतारहतार खल्तीभित्र पस्छन्।


तर

निर्णय गर्ने मान्छे चिप्लियो भने

ती औँलाहरू

फेरि राष्ट्रिय झन्डाजस्तै

फर्फराउँदै बाहिर निस्कन्छन्।


यहाँ

नेतृत्व गर्नुभन्दा

नेतृत्वमाथि टिप्पणी गर्नु

अझ सुरक्षित पेशा हो।


किनकि

असफल भए

लाज लाग्छ,

तर

आलोचकलाई

कहिल्यै हार्नु पर्दैन।


अचम्म त के छ भने,

डुङ्गा डुब्न लाग्दा

समात्ने हात भेटिँदैन,

तर किनारामा उभिएर

लहर गन्ने विज्ञहरूको

कहिल्यै अभाव हुँदैन।


हामी

नेता खोज्ने समाज हौँ,

नेतृत्व गर्ने होइन।


हामी

परिवर्तनको पक्षमा नारा लगाउँछौँ,

तर

परिवर्तनको मूल्य तिर्ने पालो आउँदा

हाम्रो साहस

मोबाइलको टिप्पणी बाकसजत्रो मात्र रहन्छ।


त्यसैले

आजकल मलाई

आलोचनासँग डर लाग्दैन।


मलाई त

जिम्मेवारीबाट भागेर

नैतिकताको भाषण दिने

अनुहारहरूसँग डर लाग्छ।


किनकि

इतिहास बिगार्नेहरू

सधैँ कुर्सीमा बसेका मानिस मात्र हुँदैनन्—

कहिलेकाहीँ

कुर्सी खाली छोडेर

पछि उभिएका मानिसहरू पनि

उत्तिकै दोषी हुन्छन्।

Comments

Popular posts from this blog

‘मास्टर्नी’ गीत : लोकप्रियताको दौडमा हामीले कुन सामाजिक मूल्यलाई बलियो बनाइरहेका छौँ ?

मातृत्वको असिम आनन्द !

हाम्रा विद्यालय राम्रा विद्यालय बनाउनु छ ?