जायज र नाजायज शृङ्खला !

जायज र नाजायज शृङ्खला ! 

                                                    रेणुका जि सी

           सोमबार साँझ कपनको आकाशेधारा चौरमा खेल्दै गरेका बच्चाहरूले एउटी नवजात शिशुलाई बेवारिसे अवस्थामा भेटे । कार्टुनको बाकसमा रहेकी ४/५ दिनकी जस्ती ती  अबोध सुन्दर शिशुको तस्विर  हाम्रो  समाजको कुरुप  बिम्ब बोकेर  उभिएको जस्तो लाग्यो ।  घचघचाइरह्यो । घटनाको सत्यतथ्य कुरा जे भएपनि  यति त  अनुमान लगाउन सकिन्छ  कि सहज रुपमा  नै गर्भपतनको सुबिधा भैरहेको अहिलेको अवस्थामा यसरी शिशु भेटिनु गर्भको अन्त्य समयतिर आएर महिला माथि भएको धोकाको परिणाम हो । र बालगृह नजिकै शिशु भेटिनु भनेको बच्चा बालगृहमा सुरक्षित हुर्कियोस् भन्ने आमाको  चाहना हो । 

    वेवारिशे रुपमा  कोही जिवित कोही मृत अवस्थामा शिशु भेटिएका  खबर हामीले प्राय सुनिरहेका हुन्छौँ । यी खबरहरु सुखद खबर  होइनन । तर सोचनीय खबर चाहीँ पक्कै हुन !

             अक्सर यस्ता खबर सुन्नासाथ हामी धेरैको प्रतिक्रिया यही हुन्छ । चरित्रहिन आइमाइ ....पापीनी आमा ....आमाको नाममा कलंक ....या यस्तै केही । यसरी नै सतही प्रतिक्रिया दिने कि यस बारेमा गम्भिर भएर चिन्तन  मनन पनि गर्ने ?  

         एक आमा जसले आफुभित्र एउटा जीवन  हुर्काइरहेकी हुन्छे । उसले सामान्य अवस्थामा आफ्नो सन्तान छाड्न सक्दिन  । सर्वमान्य कुरा हो । असामान्य अवस्थाहरु चाहीँ कसरी सृजित भैरहेका छन ?  त्यसका कारणहरु के के हुन सक्छन त ! तपाईं हाम्रो  सोचको विषय  यो पो बनाउने कि ! 

         बच्चा त्यही बाटो भएर जन्मन्छ जुन बाटो भएर एउटा पुरुष महिलामा पुग्छ । कुनै पुरुष बिना महिला एक्लै आमा बन्न सक्दिने । महिला पनि पुरुष सरह एक शरीर हो । महिला र पुरुष शरीरका आ आफ्नै विशेषता छन । प्रजनन प्रकृयाका आधारमा  मात्र महिला र पुरुष दुई फरक जातीका रुपमा बिभाजित हुन । 

        मानव जीवनमा पनि यौन  सम्बन्धको महत्वपूर्ण भूमिका रहन्छ । सृष्टी यौनकै उपज हो । महिला र पुरुषको रगत र विर्य नमिली गर्भधारण हुँदैन । गर्भधारण पश्चात गर्भको शिशुको सुरक्षा महिलाको हातमा हुनुपर्ने हो । तर सवाल यो हो ,  के महिलाको पाठेघरमा महिलाको अधिकार छ त ?  गर्भमा छोरी छ भन्ने थाहा पाएपछि परिवारको निर्देशनमा लुरुलुरु अस्पताल पुगेर जतिपटक पनि लम्पसार परेर खुट्टा उचाल्न पछि नपर्ने आम महिलाको पाठेघर कुन सोचको मुट्ठीमा छ  ? कुन सोचको निर्देशनमा यी शिशु  नाजायज बनिन र कार्टुनमा आइपुगिन ?

         अब कुमाता भन्नेहरुले यो पनि  भनिदिनुहोस ।महाभारतमा सत्यवती र  कुन्ती लाई विचरा भन्न सक्ने हामी , कर्णलाई नदिमा बगाउँदा बगेका कुन्तीका आँशुले पोलेर धरधरी रुन सक्ने  हामी ! तर घर छेउका कुन्तीहरु हामीलाई  किन अस्विकार्य !  के संवेदना भन्ने कुरा फिल्मको पर्दाका लागि मात्र हो र !  

          जायज र नाजायजका जुन प्रश्नहरु अहिले हाम्रा समाजमा  उठाइरहेका छौँ ती प्रश्नहरु हाम्रा धर्मग्रन्थहरुमा  पनि उठाउन जरुरी छ । पराशर ऋषीले सत्यवतीलाई कुमारी अवस्थामा आमा बनाए ,  सूर्यले कुन्तीलाई कुमारी अवस्थामा आमा बनाए, अझै महर्षी व्यासले त आफ्नी  आमाको लोग्नेका छोराकी विधवा श्रीमतीलाई र दाशीलाई आमा बनाए ।  भरत वंश अगाडि बढ्यो । हामीले सहजै पचाइदियौँ । अति सामान्य रुपमा । कारण त्यहाँ  ती (नाजायज )कुराहरुको व्याख्या गर्न जायज कारणहरु दिइएको छ नि त !  अनि त्यस्ता जायज कारणहरुका शृङ्खला हाम्रा वरपर पनि त होलान नि  । हैन र ! 


                 हामी पटक पटक जायज र नाजायज का बारेमा बोल्छौँ । आखिर के जायज  ?  हामीलाई जे सुनाइयो सुन्यौँ  त्यही ! जे पढाइयो पढ्यौँ त्यही !  हाम्रो चेतनाको पर्दा  खोलेर त हेरौँ ब्रह्मा , विष्णु , महेश्वर देखि राम , कृष्ण , बुद्ध सबैमा प्रश्नचिन्ह खडा गर्ने प्रशस्त ठाउँ  भेटिन्छन । अझ महाभारत र श्रीस्वस्थानीका त  नकुरा गरुम ।

      हाम्रा धार्मिक ग्रन्थहरुलाई  हेर्दा  पनि यति त भन्न सकिन्छ पितृसत्तात्मक जगमा उभिएको हाम्रो समाजको मालिक पुरुष हो ।  प्राचिन समयमा पनि अहिले पनि , लिङ्गका आधारमा हामी महिलाहरु भएपनि अधिकांश महिलाहरुको सोच  नै पुरुषप्रधानताले हावी भएको छ । लोग्नेमानिस हो यति त भै हाल्छ नि । हामी सहजै स्विकार गरिदिन्छौँ ।जसले गर्दा समाजमा मालिकका रुपमा व्यवहार गर्न पुरुषहरु वर्जित छैनन , महिलाहरु वस्तु बनेका छन , दासी बनेका छन । यस्ता प्रवृत्तिप्रति महिलाहरुको मौनताले स्विकारोक्ती बोलीरहेको छ । फलस्वरुप अपराध बढिरहेको छ । एउटी महिलाको दुई दुई पटक दुई  श्रीमानद्वारा हत्या गरिएको दृष्टान्त हाम्रै सामु छ ।

         

        हामी भनेँ आँखा चिम्लेर प्रतिकृया जनाइरहेका  छौँ । यस्ता घटनाहरुका पछाडि महिला एक्लै दोषी हो , देखिरहेका छौँ । महिला माथि मात्र  प्रश्न उठाइरहेका  छौँ । 

     महिला जन्मदै महिला भएर जन्म लिने होइन । एउटा  अबोध शिशु महिला  बनाइएझैँ ,  एउटी महिला चरित्रहिन बनाइन्छे , पापीनी बनाइन्छे,  कुमाता बनाइन्छे । हामीले बनाएका छौँ । हामी किन स्विकार गर्न सक्दैनौं ? यी सब बनाइनुका पछाडि हाम्रो हात पनि छ !  के यो शिशु यसरी छाडिनुमा हाम्रो कुनै भूमिका छैन  र  !  हाम्रो समाज , सामाजिक संरचना , कानुनी व्यवस्था सब जायज छन  त ? 

           थाहा छ ।  सामान्य पहिरनको आधारमा मर्यादा निर्धारण गरिने समाजमा उभिएर यसो सोच्नु मुर्खता ठहरिएला ! तर अबको समाजमा महिलाको मातृत्वको स्वतन्त्रता स्विकार्य गर्न जरुरी छ ।  कानुनी रुपमा मात्र होइन सामाजिक सोचलाई पनि फराकिलो पार्न अपरिहार्य छ । महिलालाई  आफ्नो इच्छाले प्रजननको अनुमति दिएर अविवाहित या एकल आमा र तिनका सन्तानलाई जायज  मान्ने हो भने यो (नाजायज ) शृङ्खला कम  हुन्थ्यो कि त ! 

Comments

  1. Ekdam satye kura ho, hami le yo kura uthaunai parxa mahila lai purus jastai banau vanyera adhikar magya hoina tara purus r mahela lai samman rup ma herda matrai pani dherai samsya ko samadan hunxa. Mahela le mathi uthna pauxan , agi badhna pauxan vanne kura ho. Aafnu adhikar jeuna pauxan vanne kura ho.

    ReplyDelete
  2. भर्खरै हाम्रै समजामा घटेको घटनलाई लिएर गंभिर कुरा उठाउनु भएको छ । पक्कै पनि हामीले यो सोचेनौ कि ती महिलाले कति दर्द सहेर त्यो निर्णय लिए होलान । आखिर महिला पुरुष मिलेर गरेको कर्मको फल हो त्यो । किन पुरुषलाई गाली गरिएन जसले गर्दा आफ्नो कोखमा हुर्केको बच्चा त्यसरी वेवारिसे अवस्थामा फ्याक्नु पर्‍यो । यो समाजको सानो सोच पनि जिम्मेवारी छ । यदि यो समाजमा विवाह नगरी बच्चा जन्माउन पाइने व्यवस्था भएको भए आज यो दिन आउथेन । फिलिपिन्समा विवाह नगरी मज्जाले बच्चा जन्माउन पाइन्छ र पछि विवाह गर्दा कहिले प्रश्न उठदैन । अब हाम्रो समाजको पनि सोच फराकिलो पार्न जरुरी छ । तपाईको लेखले अन्यायमा परेकाको अवाज उठाएको छ ।

    ReplyDelete
  3. भर्खरै हाम्रै समजामा घटेको घटनलाई लिएर गंभिर कुरा उठाउनु भएको छ । पक्कै पनि हामीले यो सोचेनौ कि ती महिलाले कति दर्द सहेर त्यो निर्णय लिए होलान । आखिर महिला पुरुष मिलेर गरेको कर्मको फल हो त्यो । किन पुरुषलाई गाली गरिएन जसले गर्दा आफ्नो कोखमा हुर्केको बच्चा त्यसरी वेवारिसे अवस्थामा फ्याक्नु पर्‍यो । यो समाजको सानो सोच पनि जिम्मेवारी छ । यदि यो समाजमा विवाह नगरी बच्चा जन्माउन पाइने व्यवस्था भएको भए आज यो दिन आउथेन । फिलिपिन्समा विवाह नगरी मज्जाले बच्चा जन्माउन पाइन्छ र पछि विवाह गर्दा कहिले प्रश्न उठदैन । अब हाम्रो समाजको पनि सोच फराकिलो पार्न जरुरी छ । तपाईको लेखले अन्यायमा परेकाको अवाज उठाएको छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

‘मास्टर्नी’ गीत : लोकप्रियताको दौडमा हामीले कुन सामाजिक मूल्यलाई बलियो बनाइरहेका छौँ ?

मातृत्वको असिम आनन्द !

हाम्रा विद्यालय राम्रा विद्यालय बनाउनु छ ?