शीर्षक-यसोधरा

यसोधरा !

रुँदै अन्धकारले 

शीत झारेपछी

उज्यालिदा रहेछन् दिनहरु

त्यसरिनै उज्यालिरहेका रहेछन् 

भगवानहरु, मान्छेहरु 


यसोधरा !

तिमी त्यही अन्धकार बन्यौँ ,


भङ्ग गर्दै

मातृसुखको असिम आनन्दलाई

 थोपरेरे तिम्रो छातीमाथी

वियोगका आँसु अनुत्तरित कैयन 

प्रश्नहरु 

डुबाएर चुर्लुम्म

दुखको गहिरो सागरमा

दुखकै निर्वाण खातिर निस्किए 

पिता पतिको कर्तव्य देखि बिमुख 

तिम्रो अर्धाङ्ग 

कहलिए महामानव

तर तिमी यसै विलायौ

जसरी बिलाए घामको पहिलो झुल्कोसँगै

कैयन शीतहरु

तिमी यसै गुमनाम भयौ

जसरी गुमनाम भइरहेकाछन

बत्ती मुनिका समयहरु


यसोधरा !

इतिहास विचरी बनाउन उद्द्त

तिमी तिमीजस्तै कैयन अनुहारहरुलाई

 गोमा ,सती ,सीता,राधा,

 वृन्दा,द्रौपदी , गान्धारी या

 याे युगकी जसाेदाबैन 

यस्ता अनगिन्ती पात्र चरित्रहरु 

पटक पटक उभिरहन्छन्

कैयन प्रश्न बोकेर

 मेरो मथिङ्गलमा 

 यो कुन ग्रहण हो?

  को द्वारा सुनियोजित ?

जुन सधैं अर्धाङ्गिनीको

भागमा लागिरहन्छ !

छोपीरहन्छ  

 विद्द्ता, स्वाभिमान संघर्षका पाटाहरु

अनि व्याख्या गरिदिन्छ 

पुरुष हैकमवादको अस्त्रको रुपमा

कहिलेसम्म सुर्योदय हुँदैन हाम्रा यात्राहरुमा ?


यसोधरा !

नसकौँला उत्खनन गरेर बदल्न

ती इतिहास ,ती मिथक

तर सक्छौँ हाम्रो वर्तमान 

आगत बदल्न

चारै युगमा नउघ्रेको पुरुषसत्ताको पर्दा

धुजाधुजा बनाएर 

सदियौँदेखिको यो ग्रहणका विरुद्ध 

लेखिएका तर नभेटिएका 

समानताका परिनिर्वाण खातिर

अब प्रब्रजित बनौँ

जप्दै 

स्त्रीजन हिताय

स्त्रीजन सुखाय

स्त्री कल्याण

Comments

Popular posts from this blog

हाम्रा विद्यालय राम्रा विद्यालय बनाउनु छ ?

मातृत्वको असिम आनन्द !

शीर्षक-पहाड