मौनताको लय


मौनताको लय

बोल्न नजानेर पनि होइन
बोल्न नसकेर पनि होइन 

छाएको छ अजिब मौनता म वरिपरी
आक्रोशको आगो ओकल्ने जिब्रो
आगोलाई अक्षरमा उनेर आगो लेख्ने औँला
यो माटोलाई रगत चढाएर 
माटोकै सुगन्ध बाँड्नेहरुलाई
सलाम गर्ने हात
आशाको धरहरा ढलेकाहरुको
मनको बीभत्स चित्र देख्ने आँखा
जबर्जस्ती जिब्रो थुतिएकाहरुको बोल्न बाँकी
करुणमिश्रित विद्रोही आवाज सुन्ने कान
यी सबै सबै लकडाउनमा छन्
र खोज्दै आफ्ना ओठहरुको सुर
मौनताको लय भित्र
चुपचाप चुपचाप छन् 
मौन मौन छन् 
तर मौन हुनु
शान्त हुनु होइन रहेछ

 म देख्दै छु 
मेरो मनको एकान्तवासमा 
मनकै बहाबलाई टक्क रोकेर 
कसैको अभिमानको पर्खाल भत्काउन
शक्ति सन्चय गर्दै
अग्लिदै छ एउटा नदि

म महशुस गर्दै छु
बारबारका प्रहारहरुलाई
छातीका गहिराइमा खाँदेर
भित्रभित्रै बिद्रोहका लाभाहरु सल्काएर
ज्वालामुखिको तयारी गरिरहेको 
 म भित्रको भुमिगत पहाडको उष्णता

म तैरिरहेकी छु
त्यो आन्ध्र महासागर माथि
जहाँ पटक पटक भाला रोपेपछी
मेरो घाइते स्वाभिमानबाट बगेका रगत र
जबर्जस्ती खनाइएका विषाक्त विचारहरुको नदि
मन्थन भैरहेका छन् 
अनि पर्खिरहेकाे छ
द्रौपदीका खुला केश फिॅंजाएर
विस्फोटका लागि
 एउटा भयानक सुनामी 
एउटा कूरूक्षेत्र 

घरी घरी म आफैं शशंकित भएकी छु
अधिर मन बोकेर
घायल बघिनी झैं 
मौकाको प्रतिक्षामा  
चुपचाप उभिएको
यो मौनता म हुँ कि समय 
जो भयानक प्रलयको तयारीमा उद्द्त छ ।

Comments

Popular posts from this blog

हाम्रा विद्यालय राम्रा विद्यालय बनाउनु छ ?

मातृत्वको असिम आनन्द !

शीर्षक-पहाड