शीर्षक -मायाको रङ
मायाको रङ
रेणुका जि सी खतिवडा
चन्द्रपुर ४ रौतहट
कतै टाढा बसेर
किन बर्साउन खोज्दैछौ
यादहरुको वर्षात ?
किन पठाइरहेका छौ
मेसेन्जरका भित्ताभरी
यि राता मुटुका चिन्हहरु ?
उहिले पो
एक समय थियो ,
कतै भिडभाडमा पनि
तिमीलाई बिर्सुँलाकी भनेर
तिम्रो यादको पछ्यौरीभित्र
मुटु गुटुमुटु पारेर हिंड्थेँ ।
एकान्तमा तिमीलाई नै सम्झी सम्झी
तिमीलाईनै कल्पी कल्पी
घरी सुर्यमुखी झैँ मुस्कुराउँथे
घरी लज्जावति झैँ खुम्चन्थेँ ।
मेरो मनबारीको माली
तिम्रा यादहरुको फोहोराबाट
आफैलाई निथ्रुक्क भिजाइदिन्थेँ ।
जसै तिम्रो
मनबारीमा अरुनै फुलहरु
फुलिरहेको देखेँ ।
तिमी भँवरा बनेर तिनै फुलहरुमाथी
डुलिरहेको देखेँ ।
देखेँ विस्वासले सुम्पिदीएको
मेरो मुटु फुटाएर
होली खेलिरहेको देखेँ ।
अनि
बचेखुचेको त्यही मुटुलाई
पोको पारेर फर्केकी हुँ
तिम्रो यात्राबाट
तर
थकित नबनी
कम्पित नबनी
विचलित नबनी
तिम्रो यादको दुखाइलाई
सियो बनाएर सिलाएकी हुँ
आफ्नै छाती
आँखाका नुनिला ढिकाहरुलाई
मलहम बनाएर लगाएकी हुँ
चराइरहेको घाउमाथि
तिमीले पत्कर बनाएको मुटुलाई
पत्थर बनाएर
तिम्रा यादहरुको सुन्दर पेन्टिङलाई
तिम्रै कटाक्षको कालो रङ्ले रङ्गाएर
कालीगण्डकीमा बहाइदिएपछी
फेरी
मुटुमा नयाँ क्यानभास सजाएकी हुँ
र पोतेकी हुँ मायाको सुन्दर रङ
सिर्जेकी हुँ यो सानो फुलबारी
जहाँ मसंगै मेरो विस्वास र मेरा सिर्जनाहरु
फुलिरहेका छन ।
Comments
Post a Comment