शीर्षक-पैताला (कविता)
पैताला
रेणुका जि सी खतिवडा
चन्द्रपुर ४ रौतहट
प्रत्येक बिहान सँगासँगै ब्युँझन्छन
दुइजोर आँखाहरु
तर ब्युँझदनैनन् पैतालाहरु
एकजोर पैतालाहरु
सुनामीको बेग बनेर
पुग्छ्न भान्छाघर,
निभाएर केहिबेर अझै सुत्ने रहर
जलाउँछन स्टोभका बर्नरहरु
चहार्दै चोठाकोठा सँगाल्छन धुलोका कणहरु
धुलोका कणसंगै
थन्काउँछन डस्बिनभरी,
हावासंगै उड्ने मनका रहरहरु
हतारीन्छ्न भर्न गाग्री र गाग्री जस्तै
नानीका मुखहरु
शान्त पार्दै प्रत्येक कोठाबाट पड्किने
बन्दुकहरु,
बाबैको तातोपानी चस्मा र पत्रीका
आमैका गन्थन, पुजाका लोहोटा,
ओछ्यानभरीका असरल्ल सिरक
बाँटाभरीका साना ठुला कपडा
कुकरका सिटिको सिँसीँका कर्कशहरु
ढिला भैसक्यो छिटोका आवाजहरु
यि सबै सबै सुन्दै सुन्दै
ठिक समयमा ठिक ठिक ठाउँमा
साना ठुला देवता सबैलाई पुज्दै
कुदिरहेका यि पैतालाहरु देख्दा
लाग्छ,
यि पैतालाको दौडको कुनै अन्त्य छैन
विश्रामको लागी कुनै स्थान छैन
वस कुदिरहन्छन
कुदिरहन्छ्न निचोरिरहेको आफ्नो
पेट थमथमाउदै
कुदिरहन्छ्न चिमोटिरहेको अनुहारमा
कृत्रिम मुस्कान छर्दै
प्याज जस्तै पिरो दैनिकीलाई
चट चट काटेर आँखा चिम्लिदै
तर कहिलेसम्म ?
Comments
Post a Comment